२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्यात कमजोर, व्यापार घाटा ८ खर्ब नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
867 views

ललितपुर । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालले विदेशसँगको व्यापारमा करिब ८ खर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म नेपालको व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो। यस वर्ष आयातको दर तीव्र रूपमा बढे पनि निर्यात अपेक्षाकृत कमजोर रहेकाले व्यापार घाटा थप चुलिएको देखिएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालले कुल ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालबाट विभिन्न मुलुकमा १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसँग तुलना गर्दा आयात १४.१८ प्रतिशतले र निर्यात ४३.७६ प्रतिशतले बढेको विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया