
ललितपुर - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले प्रचलित कानुनअनुसार गरिएका व्यावसायिक निर्णयलाई अपराधीकरण नगर्न सरकारसँग आग्रह गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई धितो लिलामी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सीबीफिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।
सीबीफिनले कानुनी परिधिभित्र रहेर गरिएका पेसागत निर्णयलाई आपराधिक दृष्टिकोणबाट हेर्नु न्यायसंगत नभएको जनाएको छ । साथै वस्तुनिष्ठ अनुसन्धानबिना नै पेसाकर्मीलाई अपराधीसरह पक्राउ गर्नुले समग्र बैंकिङ क्षेत्र त्रसित बनेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, सुरक्षित कारोबार ऐन २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशनमा कर्जा प्रवाह, असुली र धितो लिलामीबारे स्पष्ट व्यवस्था रहेको स्मरण गराइएको छ ।
सीबीफिनले सर्वसाधारणको निक्षेप सुरक्षित गर्न बैंकले कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै धितो सम्पत्तिमा बैंकको अधिकारबारे स्पष्टता आवश्यक रहेको जनाएको छ ।
उसले यस्ता घटनाले दक्ष जनशक्ति पलायन हुने, बैंकिङ क्षेत्र कमजोर बन्ने तथा अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी समेत दिएको छ । सीबीफिनले नेपाल सरकार तथा सम्बन्धित निकायलाई यस विषयमा गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ ।

बिजनेस पाटी











