
ललितपुर - स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार पक्राउअघि पाण्डेले मोबाइल फोन स्वीच अफ गरेर फरार हुने प्रयास गरेका थिए । उनलाई सिन्धुली जिल्ला प्रहरी कार्यालयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अनुमतिपत्र रद्द भएर सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण गैरकानुनी रूपमा लिलामी बिक्री गरिएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यही प्रकरणमा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई पनि पक्राउ गरिसकेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको मातहतमा जानुपर्ने स्मार्ट टेलिकमको सम्पत्ति बैंकले गत असोजमा एनसेललाई लिलाम बिक्री गरेको देखिएको छ । उक्त प्रक्रिया तत्कालीन अध्यक्ष जोशीको स्वीकृतिमा अघि बढाइएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाख ३ गते स्वतः खारेज भएको थियो । ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ अनुसार लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण पूर्वाधार, संरचना र नेटवर्क नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने व्यवस्था छ ।
यही कानुनी प्रावधानविपरीत बैंकले सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएर सरकारको हक टुटाउने प्रयास गरेको आरोप सीआईबीको छ । पाण्डेले बैंकको ‘लोन रिकभरी कमिटी’ अध्यक्षको हैसियतमा लिलामी प्रक्रिया सञ्चालन गरेको र उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पर्ने प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा अर्को गम्भीर विषय पनि खुलेको सीआईबीले जनाएको छ । बैंकले २०८२ असोज ३ गते जारी गरेको लिलामी सूचनामा स्मार्ट टेलिकमले तिर्न बाँकी घरभाडा र विद्युत् महसुलबापत थप ४० करोड रुपैयाँ एकमुष्ट कबोल गर्नुपर्ने शर्त राखिएको थियो ।
तर बोलपत्रदाताबाट उक्त रकम उठाइए पनि हालसम्म सम्बन्धित जग्गाधनी तथा नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी नगरी बैंकमै राखिएको आरोप छ । यसलाई पनि ठगी तथा आपराधिक विश्वासघातअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण दस्तुरसहित करिब ३० अर्ब रुपैयाँ राजस्व तथा विभिन्न शुल्क नतिरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो । अहिले प्रकरणमा संलग्न अन्य व्यक्तिमाथि समेत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

बिजनेस पाटी













