नेपालको भारतसँगको व्यापार सम्बन्धलाई सहज र प्रभावकारी बनाउन अध्यक्ष ढकालको जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ९
|
459 views

ललितपुर - ललितपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँगको आर्थिक सहकार्यलाई सहज र परिणाममुखी बनाउनु आवश्यक रहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ मा सम्बोधन गर्दै उहाँले सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण, साथै साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत भएको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राख्नुभयो ।

उहाँले विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोध भइरहेको अवस्थामा छिमेकी राष्ट्रबीचको सुदृढ सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । भारतले प्रस्तुत गरेको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि नयाँ अवसर सिर्जना गर्ने उहाँको विचार थियो ।

अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो ।

त्यसैगरी, पर्यटन क्षेत्रमा लगानीको अवसर विस्तार भइरहेको र नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्य प्रस्तुत गरेको जानकारी उहाँले दिनुभयो ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा लगानीको सम्भावना रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको पनि उल्लेख गर्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube