उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १
|
51 views

ललितपुर - आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन् ।

मोरङको सुन्दरहरैँचाका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटमा बिहानैदेखि व्रतालु तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो ।

बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा छठ पर्व उल्लासपूर्ण वातावरणमा मनाइएको छ ।

मकवानपुरः जिल्लामा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भई छठ मनाएका छन् ।

हेटौँडाको राप्ती तटमा आयोजित छठ विशेष पूजा समारोहमा राप्ती नदी किनाराको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा ६५ हजार व्रतालुले छठ पूजा गरेको पूजा प्रबन्ध समिति, हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।

छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।

भक्तपुरः कमल पोखरीदेखि गोदावरी खोलासम्म रातभर जाग्राम बसी बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।

आइतबार कमलपोखरीदेखि गोदावरी खोलासम्ममा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिएको भक्तपुरको बालकोटस्थित गोदावरी खोला छठ व्यवस्थापक दशरथ ठाकुरले बताउनुभयो ।

कपिलवस्तुः जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, लबनी लगायत कपिलबस्तुको ७९ स्थानमा मैथली, अवधी र पहाडी समुदायका महिलाले आइतबार साँझको अस्ताउँदो सूर्य र सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।

गत वर्षको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायतका क्षेत्रमा छठ मनाउने महिलाको सङ्ख्या उल्लेख्य बढेको छ । यहाँका जमुवार, रामघाट, कृष्णनगर, बहादुरगञ्ज, पकडी, लबनी लगायतका नदी तटीय क्षेत्रमा जम्मा भएका महिला तथा पुरुषले छठ मनाउंँदै रातभर जाग्रम बसी भजन कीर्तन गरेका थिए ।

सप्तरीः सप्तरीमा छठ पूजाको चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पूजा सम्पन्न भएको छ ।

व्रतालुले छठ पूजा गर्ने स्थान पोखरी तलाउ, नदी वा जलाशयमा झिसमिसे उज्यालोमा स्नानगरि नरिवलमाथि दियो बालेर पानीमा उभिने र सूर्य उदाएपछि चढाउन राखिएको एकएक पूजाको सामग्री सूर्यलाई देखाउँदै परिवारका सदस्य, आफन्त तथा इष्टमित्रले दुधले अर्घ्य दिएर छठ पूजा सम्पन्न भएको छ ।

पर्साः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज बिहान वीरगञ्जका विभिन्न छठघाटमा पुगेर छठीमाईको पूजाआजा गर्नुभएको छ ।

छठ पर्वको अवसरमा वीरगञ्ज आउनुभएका थापाले बिहानै पत्नी अञ्जना केसीका साथ वीरगञ्ज–१० स्थित छठघाट पुगेर पूजापाठ, दर्शन र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको हो ।

त्यसैगरी, उहाँ नगवा प्रहरी चौकीनजिकको छठघाट र उपकैयाँ छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजाआजा गर्नुका साथै शुभकामनासमेत आदानप्रदान गर्नुभएको छ ।

महोत्तरीः यस वर्ष जिल्लाको बर्दिबास बजार क्षेत्रमात्र नभएर यसै क्षेत्रका हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरसहितका बस्तीका घरआँगनमा छठघाट बनाएर भक्तजनहरुले छठ मनाएका छन् ।

त्यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका विभिन्न बस्तीका घरआँगनमै छठघाट बनाएर धेरैले पर्व मनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube