ललितपुर - ललितपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा सिर्फ राजनीतिक संरचना मात्र होइन, पारदर्शिता, उत्तरदायित्व र कानुनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा जारी सन्देशमा उहाँले लोकतन्त्रलाई जनजीवनसँग जोड्नु, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नु, साथै आर्थिक रूपान्तरणमा जोड दिनु आवश्यक रहेको औँल्याउनुभयो ।
विसं २००७ फागुन ७ मा जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ढाँचा तयार पारेको स्मरण गर्नुभयो । यसले नेपाली समाजलाई अधिकारप्रतिको सचेतना, राजनीतिक जागरूकता र परिवर्तनप्रतिको प्रतिबद्धता दिन सहयोग गरेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली सहित विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउने अग्रज र लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गर्नुभयो ।
यस दिवसले जनताको एकता र सङ्कल्पले अन्याय, निरङ्कुशता र विभेद पराजित गर्न सकिने सन्देश दिनु निरन्तर जारी रहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मान व्यवहारमा लागू गर्दा मात्र प्रजातन्त्रको सार्थकता सुनिश्चित हुन्छ उहाँको धारणा रह्यो ।

बिजनेस पाटी