२०८२ चैत्र २१ | Apr 04, 2026

छ वर्षपछि चीन–उत्तर कोरियाबीच अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
408 views

ललितपुर – चीनउत्तर कोरिया बीच सञ्चालन हुने अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा करिब छ वर्षपछि पुनः सुरु हुने भएको छ । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको सेवा बिहीबारदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको ट्राभल अपरेटरहरूले जनाएका छन् ।

बेइजिङडान्डोङ स्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा रेल सेवा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा काम, अध्ययन वा परिवार भेटघाटका लागि यात्रा गर्ने उत्तर कोरियालीहरूका लागि खुला हुनेछ। तर हालका लागि पर्यटकहरूलाई टिकट खरिद गर्ने अनुमति दिइने छैन ।

उत्तर कोरियाको यात्रासम्बन्धी सेवा प्रदान गर्ने कम्पनी यङ पायोनियर टुर का टुर म्यानेजर रोवान बियर्ड ले रेल सेवा पुनः सञ्चालनलाई सकारात्मक संकेतका रूपमा लिनुभएको छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय रेल सेवा पुनः सुरु हुनु स्वागतयोग्य कदम हो ।

उहाँले आफ्नो कम्पनीले पनि बिहीबारदेखि सञ्चालन हुने रेलका टिकट बुकिङ गर्न सक्ने जानकारी दिनुभयो। सुरुआती चरणमा सेवा पर्यटकका लागि नभए पनि भविष्यमा उत्तर कोरियाको पर्यटन क्षेत्र खुला भएपछि रेल यात्रा महत्त्वपूर्ण विकल्प बन्ने उहाँको विश्वास छ। यसले हवाई सेवाको विकल्पका रूपमा यात्रुहरूलाई थप सुविधा दिने अपेक्षा गरिएको छ ।

महामारी सुरु भएपछि उत्तर कोरियाले कडा नियन्त्रण नीति अपनाउँदै सन् २०२० मा सीमापार यात्रा लगभग पूर्ण रूपमा बन्द गरेको थियो । त्यसै क्रममा चीन र उत्तर कोरियाबीचको रेल सेवा पनि स्थगित गरिएको थियो ।

पछिल्लो समय भने उत्तर कोरियाले अन्तर्राष्ट्रिय आवागमन क्रमशः पुनः सुरु गर्न थालेको छ। गत वर्ष उत्तर कोरिया र रुस बीच प्रत्यक्ष उडान तथा रेल सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । विशेषगरी रुस–युक्रेन युद्ध सुरु भएपछि मस्को र प्योङयाङबीच सम्बन्ध अझ नजिकिँदै गएको पृष्ठभूमिमा ती यातायात सेवाहरू पुनः सञ्चालनमा ल्याइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया