२०८२ फाल्गुन ३ | Feb 15, 2026

चितवनको गहुँमा नयाँ रोगको चिन्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
867 views

ललितपुर – चितवनमा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले गहुँको पात पहेँलो हुनु र जरामा कीराले खाएको जस्तो समस्या देखिएको जानकारी दिएका छन् ।

कृषि विकास कार्यालयका अनुसार, तराई क्षेत्रमा पहिलेदेखि देखिँदै आएको रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो। कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलले भने, “किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा अध्ययन गरिरहेका छौं । परीक्षणपछि मात्र कुन रोग हो भन्ने पुष्टि गर्न सकिन्छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानिक सरस्वती न्यौपानेका अनुसार अहिलेसम्म रोगको निश्चित पहिचान गर्न सकिएको छैन । नमूना सङ्कलन र परीक्षण प्रक्रिया जारी रहेको छ ।

चितवनमा हाल चार हजार ७११ हेक्टर क्षेत्रमा गहुँखेती हुँदै आएको छ । गत वर्ष यस क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको थियो। यस वर्ष केही क्षेत्रफलमा राज्माखेती पनि गरिएको हुँदा उत्पादन केही घट्न सक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया