
ललितपुर - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा देशका सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
बैंकका अनुसार सातै प्रदेशमा रहेका १४८ शाखामार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरी करिब १० हजार सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थी, महिला, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू तथा अन्य विभिन्न समूहका सहभागीलाई बैंकिङ सेवा, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा वित्तीय सुरक्षाबारे जानकारी दिइएको थियो ।
कार्यक्रमका क्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्वसँगै डिजिटल बैंकिङको विस्तारसँगै बढ्दै गएको साइबर अपराध तथा वित्तीय जोखिमबारे पनि सचेतना फैलाइएको बैंकले जनाएको छ । साथै नगद कारोबार, विप्रेषण र अन्य वित्तीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्न आग्रह गरिएको छ ।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोग गरेको छ । त्यसअन्तर्गत हुम्लाको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको जनाएको छ ।
बैंकले आफ्ना यस्ता सामाजिक तथा वित्तीय सशक्तीकरणका कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ ।
सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको जनाएको छ । मोबाइल बैंकिङ एपबाट शेयर आवेदन, सी–आर–एन नम्बर सेवा तथा क्रस बैंक टेलर क्यूआर सुविधा पनि उपलब्ध गराइएको बैंकले उल्लेख गरेको छ ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बिजनेस पाटी