सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसको ‘शून्य सहनशीलता’

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
561 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै नियमनलाई सुदृढ बनाउने वाचा गरेको छ ।

सहकारी क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्न बचत सुरक्षण कोषको प्रभावकारी कार्यान्वयन र ठगीविरुद्ध कडा कारबाही गर्ने नीति अघि सारिएको छ । सहकारीलाई जोखिमरहित, डिजिटल र उत्पादनमुखी बनाउँदै अर्थतन्त्रको भरपर्दो आधारशीला बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

२५ करोडभन्दा माथि कारोबार गर्ने ऋण तथा बचत सहकारीको नियमन नेपाल राष्ट्र बैंकले गर्ने व्यवस्था गरिनेछ । संघ, प्रदेश र स्थानीय तहबीचको दोहोरोपना हटाउन डिजिटल सुपरिवेक्षण प्रणाली लागू गर्ने प्रतिज्ञा गरिएको छ ।

बचतकर्ताको रकम सुरक्षाका लागि पारदर्शी हिसाब–किताब, नियमित लेखापरीक्षण, डिजिटल ट्र्याकिङ र जोखिम पूर्वसङ्केत प्रणाली लागू गरिनेछ । ठगी गर्नेहरूलाई कानुनी कारबाही गरी सम्पत्ति जफत गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिने कांग्रेसको वाचा छ ।

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रु पाँच लाखसम्मको रकम सरकारले जमानीमा फिर्ता गर्ने र ठूलो बचतकर्ताको रकम कानुनअनुसार सहजीकरण गरिनेछ । सहकारी ठगीलाई रोक्न कडा कानुनी व्यवस्था गर्ने प्रतिज्ञा गरिएको छ ।

सहकारीलाई निजी स्वार्थमा चलाउने र सदस्य हितविरुद्ध निर्णय गर्ने प्रवृत्तिमाथि कारबाही गरिनेछ । एकीकृत डिजिटल प्रणालीमार्फत रियलटाइम अनुगमन गरी सुशासन कायम गरिने कांग्रेसको योजना छ ।

 पात्रो/राशिफल  रेडियो YouTube