
ललितपुर -
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै यही असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको उनले जानकारी दिए । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको पनि उनले जानकारी दिए । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो । मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै घोषणा भएको थियो ।
अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको हो । निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने दसैँलगत्तै गरिने कांग्रेसले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ ।



बिजनेस पाटी










