२०८२ फाल्गुन ३ | Feb 15, 2026

आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने काँग्रेसको निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ३
|
1.3k views

ललितपुर । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले  आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने  सङ्कल्प गरेको हो ।  बैठकले शेरबहादुर देउवा पक्षलाई अदालत गएर चुनावको मुखमा पार्टीलाई सङ्कटमा नहाल्ने विश्वास व्यक्त गरेको छ । 

देउवा पक्षले भने  निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै भोलि सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ। यसैबीच नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ। आज बिहान आफूनिकटका नेताहरूसँगको छलफलमा नेता कोइरालाले आफूहरू विपक्षमा उभिएको भएकाले अदालतबाटै न्याय खोज्ने बताएका हुन्।

देउवा पक्षले आयोगको निर्णयको विरुद्ध देशभर आन्दोलन गर्ने तयारी गरे पनि आफूहरू आन्दोलनको पक्षमा नरहेको कोइरालाले बताए। यता शेखर निकट मानिने काँग्रेसका नेता डा. सुनील शर्माले गगन थापा नेतृत्वको पार्टीलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले मान्यता दिएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर देउवा समूहका नेताहरू पनि अघि बढ्नुपर्नेमा जोड दिए ।

देउवा समूहको उत्पीडनका कारण विशेष महाधिवेशन गरिएको उनले उल्लेख गरे । त्यसबाट चयन भएकाले सबैलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको रहेको समेत उनले बताए । उनले आसन्न आमनिर्वाचनमा काँग्रेस एक्लै लड्ने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने जिकिर समेत गरे । यसैबीच आसन्न आमनिर्वाचनका निम्ति छोटो समय रहेकाले यससम्बन्धी काम गर्न तत्कालै संसदीय बोर्डको बैठक बस्ने आधिकारिक काँग्रेसले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया