गाईभैँसी खरिदमा किसानलाई रु २५ हजार अनुदान दिने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
765 views

ललितपुर - ललितपुर – मोदी गाउँपालिकाले व्यावसायिक दूध उत्पादन बढाउन किसानलाई अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार, आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका वा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न यस वर्षदेखि प्रति गाई वा भैँसी रु २५ हजार अनुदान दिइने भएको छ ।

अनुदान लिनका लागि किसानले वडा कार्यालयको सिफारिस, तोकेको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, साथै व्यवसाय सञ्चालनका लागि जग्गा करार वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माका अनुसार, युवा पलायन, बाँदर आतङ्क र बजार अभावका कारण कृषि तथा पशुपालन व्यवसायमा किसानको सङ्ख्या घट्दै गएको छ । यस कार्यक्रमले किसानलाई व्यवसायतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

मोदी गाउँपालिकामा पोखरा–बागलुङ सडक तथा धेरै वडामा कालोपत्र सडकको पहुँच पुगेको छ । क्षेत्र उर्वर भूमि भएकाले किसानहरू गाईभैँसीपालन, कुखुरापालन र बाख्रापालन व्यवसाय गर्दै आएका छन्। भविष्यमा माग बढेमा अनुदान रकम थप गर्ने योजना पनि रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube