२०८२ चैत्र २१ | Apr 04, 2026

बागलुङमा दादुरा संक्रमण फैलियो, ढोरपाटनका विभिन्न वडामा ८१ जनामा संक्रमण

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
510 views

ललितपुर – बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दादुरा संक्रमण देखिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का बालबालिकामा संक्रमण पुष्टि भएको धौलागिरि प्रादेशिक अस्पतालले जनाएको छ ।

एक दशकभन्दा बढी समयसम्म जिल्लामा दादुराको प्रकोप नदेखिएको अवस्थामा अचानक संक्रमण फैलिएको हो । संक्रमितमध्ये अधिकांश १० देखि २० वर्ष उमेर समूहका रहेका छन्। समुदायमा संक्रमण फैलिन थालेपछि जिल्ला अस्पतालबाट पनि स्वास्थ्यकर्मी परिचालन गरिएको धौलागिरि प्रादेशिक अस्पतालका प्रवक्ता शान्ति पौडेलले जानकारी दिइन् ।

हाल बोबाङ स्वास्थ्य चौकीबुर्तिबाङ अस्पतालमा संक्रमितको उपचार भइरहेको छ। बिरामीलाई आइसोलेसनमा राखेर उपचार, आवश्यक औषधि तथा खोप व्यवस्थापन र फिल्डमै स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

स्वास्थ्यकर्मीका अनुसार बुर्तिबाङ अस्पतालमा दादुरा संक्रमितको संख्या बढ्दो छ। फागुन २८ गते ६ जना अस्पताल भर्ना भएका थिए भने फागुन २९ गते दिउँसो १ बजेसम्म १० जना बिरामी भर्ना भइसकेका छन् । हाल बुर्तिबाङ अस्पतालमा ११ जनाबोबाङ स्वास्थ्य चौकीमा ६ जना उपचाररत छन्। साथै २९ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।

भारतबाट आएको बालकबाट संक्रमण फैलिएको आशंका

संक्रमणको स्रोत निसीखोला गाउँपालिकाबाट भारतबाट आएका एक बालक हुन सक्ने आशंका गरिएको छ। ती बालक आफन्त भेट्न ढोरपाटन–९ को बोबाङ गाउँ पुगेपछि त्यहाँका बालबालिकामा बिरामी देखिन थालेको थियो। परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।

फागुन १० गते पहिलो केस देखिएको र हालसम्म ८१ जनामा संक्रमण देखिएको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले जानकारी दिए। विभिन्न स्थानबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो, जसमध्ये सात जनामा दादुरा पुष्टि भइसकेको छ ।

यसैबीच बडिगाड गाउँपालिकामा पनि तीन जनामा संक्रमणको आशंका गरिएको छ ।

खोप अभियान र विद्यालय बन्द

संक्रमण फैलिन नदिन ढोरपाटन नगरपालिकाले शुक्रबारदेखि तीन दिनसम्म दादुराविरुद्ध खोप अभियान सञ्चालन गरेको छ। साथै भीडभाड नगर्न आग्रह गरिएको र विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

जनस्वास्थ्य अधिकृत शर्माका अनुसार स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। बिरामीलाई घरमै आइसोलेसनमा राख्ने व्यवस्था गर्न पनि स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

विशेषज्ञको सुझाव

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दादुरा भाइरसबाट लाग्ने अत्यन्त संक्रामक रोग हो। विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा यसले जटिलता निम्त्याउन सक्छ ।

दादुराका लक्षणमा ज्वरो आउने, शरीरमा रातो बिमिरा देखिने, आँखा रातो हुने र नाकबाट सिँगान बग्ने जस्ता समस्या देखिन्छन्। यसले निमोनिया, मस्तिष्क ज्वरो र आँखामा गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।

डा. पुनका अनुसार दादुराको विशेष औषधि छैन, तर खोप नै यसको मुख्य सुरक्षा उपाय हो । संक्रमण देखिएमा बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने र भिटामिन ‘ए’ खुवाउनुपर्ने उनले बताए ।

नेपाल सरकारले यसअघि सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखे पनि बीच–बीचमा संक्रमण देखिँदै आएको छ । अब सरकारले सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने नयाँ लक्ष्य तय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया