महङ्गीले खर्चिलो बन्दैछ दसैँ

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २८
|
816 views

ललितपुर - काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।

दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।

काठमाडौँ महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महङ्गी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गर्नुभयो ।

‘जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ, दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।’

शालिकचन्द्र मात्रै होइन्, तिनकुनेकी स्मिता खत्री पनि यसपालीको दसैँमा आफ्ना परिवारका सदस्यलाई एकजोर नयाँ लुगा फेरिदिने सोचमा हुनुहुन्छ । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताउनुभयो । ‘दसैँमा एकसरो लुगा त फेरिदिनुपर्यो नी, सीमित आयस्रोत हुनेलाई दसैँ त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।’

आम्दानीको स्रोत कम हुनेलाई दसैँ मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालीको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताउनुभयो । ‘बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ, अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।’

अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका समयन्त्र अग्रसर हुनुपर्ने बताउनुहुन्छ ।
‘सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ’, उहाँले भन्नुभयो ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताउनुभयो ।

‘चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ’, चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।’

महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube