
ललितपुर - विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।
प्राधिकरणकाबाट प्राप्त तथ्याङ्कअनुसार उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन् । विपद्का कारण २५० घरमा आंशिक र ६५ घरमा पूर्ण क्षति पुगेको छ । साथै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन् । यी घटनाबाट करिब रु १० करोड ९२ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ । आगलागीका मात्रै २६७ घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ । आगलागीबाट मात्रै झण्डै रु नौ करोड ७५ लाख बराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन् । जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो समय सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जङ्गल डढेलोका घटना बढिरहेका छन् । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ ।
जलवायुविद् डा.मनिष पाण्डेले जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति तथा तीव्रता परिवर्तन हुँदै गएको भन्दै सरोकारवालाले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार जलवायु जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक छ ।
‘जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्छ र त्यसमा लगानी पनि बढाउनुपर्छ,’ पाण्डेले भन्नुभयो । उहाँका अनुसार हावाहुरीजन्य जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि केन्द्रसम्म समन्वय बढाउनुका साथै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको छ ।
हावाहुरीको विशेष चेतावनी
जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरीको सम्भावित समय पनि तोकेको छ । हावाहुरी सुरु हुने सम्भावित समय आज अपराह्न ४ः०० बजे र समाप्त हुने सम्भावित समय बिहीबार बिहान ६ः४५ रहेको विभागले जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना औँल्याइएको छ ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले हावाहुरी बुधबार अपराह्नदेखि सुरु भई बिहीबार बिहानसम्म जारी रहन सक्ने बताउनुभयो । ‘यस अवधिमा मेघगर्जन, चट्याङ तथा वर्षासहितको मौसम प्रणाली सक्रिय रहने सम्भावना पनि रहेको छ’, उहाँले भन्नुभयो । विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन, खुला स्थानमा अनावश्यक रूपमा ननिस्कन तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

बिजनेस पाटी








