कांग्रेसका लागि वर्तमान चुनाव जनमतको परीक्षा हो : प्रवक्ता चालिसे

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
459 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमूलता र जनताको आकाङ्क्षा अनुसार काम नभएको यथार्थलाई आत्मसात् गर्दै सुशासन र सुधारको अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकार गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले भने ‘सार्वभौम जनताको जनादेश शासनको वैधताका आधार हो र यो चुनावद्वारा परिलक्षित हुन्छ । लोकतन्त्रको सबैभन्दा शक्तिशाली संवाहक प्रेस हो, आलोचना भएन भने हामी दुःखी हुन्छौँ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आत्मा हो र कांग्रेस यसको पक्षपोषणमा सदैव कटिबद्ध छ ।

    उहाँले लोकतन्त्र, आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविच्छिन्न जोडिएको कांग्रेसले चुनावी अभियान सशक्तताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो । साथै, निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता भएकोमा जोड दिनुभयो ।

      चालिसेले सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति गर्ने, व्यक्तिगत निन्दा र पार्टी झन्डा जलाउने गतिविधिलाई निन्दनीय ठहराउँदै यस्ता काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

      पार्टीको बदलिएको छवि चिन्तनशील, मध्यमार्गी र व्यावहारिक उन्नतिसँग जोडिएको रहेको र निर्वाचनलाई भयमुक्त तथा सद्भावपूर्ण वातावरणमा सम्पन्न गराउने चुनौतीमा सचेत वर्गले थप मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो ।

      अन्त्यमा, प्रवक्ता चालिसेले नेता, सदस्य र मतदातालाई भ्रममा नपरी दृढ भएर प्रचारप्रसार गर्न र बदलिएको कांग्रेसलाई जिताएर मुलुकको मुहार परिवर्तनमा प्रत्यक्ष सहभागी बन्न आग्रह गर्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube