२०८२ चैत्र २१ | Apr 04, 2026

धादिङ दुर्घटना अपडेट : बसभित्र फसेका यात्रुको जीवित उद्धार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
816 views

ललितपुर – दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले लामो प्रयासपछि जीवितै बाहिर निकाल्न सफल भएको हो ।

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्र च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । पर्याप्त उद्धार सामग्रीको अभाव र अप्ठ्यारो स्थानका कारण समयमा उद्धार गर्न कठिन भएको उहाँले बताउनुभयो ।

‘मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । तत्काल बस उठाउने वा काट्ने उपकरण थिएन,’ उहाँले भन्नुभयो, ‘जनरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ। उहाँको अवस्था सामान्य छ ।

दुर्घटनामा माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस परेकामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया