ललितपुर - ललितपुर – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जानकारी दिएको छ ।
प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो । तोकिएको समयमा सामग्री नहटाइएपछि प्रशासनले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
उहाँले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर र आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाही स्वरूप हटाइएको र फेरि यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने बताउनुभयो ।
विशेषगरी मुख्य बजार, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिने गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलले आफ्नो पार्टी वा उम्मेदवारको प्रचार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गर्नुभयो ।
‘नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गरिनेछ। चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं। ‘

बिजनेस पाटी