ललितपुर - ललितपुर – काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा अचानक ढुंगा खसेको घटना भए पनि चालकको सावधानीपूर्ण व्यवहारका कारण ठूलो दुर्घटना हुनबाट रोकिएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट ढुंगा खसेको हो । उक्त दृश्य बसको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।
घटनामा संलग्न बस बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको थियो र बसमा ४३ जना यात्री सवार थिए । बसले आकस्मिक ब्रेक लगाउँदा एक यात्रु घाइते भएको थियो भने अन्य केही सामान्य घाइते भएका छन् ।
सिटौलाले भने, “थोरै पनि दायाँबायाँ भएको भए बस त्रिशूली नदीमा जाने जोखिम थियो । चालकले बहादुरीपूर्वक गाडी बचाएका छन् ।
बसमा सीसीटीभी क्यामरा र जीपीएस सिस्टम जडान भएकोले घटनाबारे प्रत्यक्ष जानकारी प्राप्त भएको थियो । उनले यस्ता प्रविधि जडान हुँदा दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
सिटौलाले जीपीएस सिस्टम अनिवार्य गर्नुपर्नेमा सबै यातायात व्यवसायी एकमत रहेको र सरकारले यसको कार्यविधि छिटो लागू गर्नुपर्ने पनि बताए । यसले घटनामा कसको दोष रहेको स्पष्ट गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

बिजनेस पाटी