प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०७४ बमोजिम शुक्रबार उहाँलाई उक्त पदमा नियुक्त गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले नियुक्तिसँगै शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । अब उहाँले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ ।
सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा उहाँको अनुभवलाई नीतिगत तहमा उपयोग गर्न यो नियुक्ति गरिएको जनाएको छ ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन माध्यममा २० वर्षभन्दा बढी व्यावसायिक पत्रकारिताको अनुभव रहेको छ । उहाँले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारिता गर्दै आउनुभएको थियो ।
त्यसैगरी, उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आउनुभएको छ । पत्रकारिता, सञ्चार सीप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) सम्बन्धी प्रशिक्षण दिने प्रशिक्षकको रूपमा पनि उहाँ परिचित हुनुहुन्छ ।
दाहाल ‘कोभिड: नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखिका समेत हुनुहुन्छ ।
उहाँले खोज पत्रकारिताका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसक्नुभएको छ, जसले उहाँको व्यावसायिक योगदानलाई थप प्रमाणित गरेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया