
ललितपुर - सभामुख डिपी अर्यालले २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘बुद्ध जयन्तीको यस गौरवमय अवसरमा सम्पूर्ण नेपालीमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं राष्ट्रिय स्वाभिमान र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
सभामुख अर्यालले भगवान् बुद्धको आशीर्वादले हामी सबैमा सकारात्मक सोच, आपसी सहकार्य र लोककल्याणको भावना जागृत गरोस् भनी कामना पनि गर्नुभएको छ । उहाँले यस पवित्र दिनले हामी सबैलाई गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अविचलित भई लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
सन्देशमा भनिएको छ, ‘नेपाल एक अनुपम विविधतायुक्त मुलुक हो । यहाँका विभिन्न जातजाति, भाषाभाषी र संस्कृति हाम्रा गौरव हुन् । वर्तमान समयमा हामीले भोगिरहेका विभिन्न सामाजिक र आर्थिक चुनौतीहरूका माझ हाम्रो जातीय र सांस्कृतिक विविधताले नै हामीलाई सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ ।’
विविधताभित्रको गहिरो एकता र आपसी सद्भाव नै हाम्रो राष्ट्रिय शक्ति हो भएको उल्लेख गर्दै उहाँले हाम्रा बहुधार्मिक र बहुसांस्कृतिक मूल्य मान्यताले समाजमा सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रगाढ बनाउँदै अघि बढ्न अभिप्रेरित गरिरहेको बताउनुभयो ।
‘विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू संसारभरिका मानिसका लागि मार्गदर्शनको स्रोत हुन् । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको यो त्रिसंयोगको दिनले विश्वलाई नै अहिंसा र प्रेमको सन्देश प्रवाह गरिरहेको छ’, सन्देशमा उल्लेख छ । मानव जीवनमा आइपर्ने विभिन्न सङ्कट र दुःखहरूबाट मुक्ति पाउन तथा समाजमा दिगो शान्ति र विकास कायम गर्न बुद्धको करुणा र मैत्रीभाव आजको सन्दर्भमा अझ बढी महत्वपूर्ण बनेको सभामुखले उल्लेख गर्नुभयो ।

बिजनेस पाटी















