स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशक डा. काफ्लेले दिए राजीनामा : बोर्डमा दाबी भुक्तानीको भार

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
1.7k views

ललितपुर -

ललितपुर । स्वास्थ्य बीमा बोर्डमा दाबी भुक्तानीको दायित्व निरन्तर बढ्दै गएपछि कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि अस्पताल तथा स्वास्थ्य संस्थाहरूले बीमा दाबीको भुक्तानी नपाएको गुनासो गर्दै आएका बेला आएको यो राजीनामालाई बोर्डभित्रको बढ्दो व्यवस्थापकीय दबाबसँग जोडेर हेरिएको छ।
बोर्ड स्रोतका अनुसार स्वास्थ्य बीमा कार्यक्रम विस्तारसँगै बीमितको संख्या बढेको भए पनि सोही अनुपातमा स्रोत व्यवस्थापन हुन नसक्दा दाबी भुक्तानी संकट चुलिएको हो। अस्पतालहरूले उपचारपछि पेश गरेका दाबी रकम समयमै भुक्तानी नहुँदा सेवाप्रवाहमै असर पर्न थालेको थियो।


कार्यकारी निर्देशक डा। काफ्लेले सीमित बजेट, ढिलो दाबी परीक्षण प्रक्रिया र नीतिगत जटिलताबीच जिम्मेवारी सम्हाल्न कठिन हुँदै गएको भन्दै राजीनामा दिएको बताइएको छ। उनका निकट स्रोतहरूका अनुसार बोर्डको संरचनागत कमजोरी र स्रोत अभाव समाधान नगरी समस्या समाधान सम्भव नदेखिएपछि उनले पद त्याग गर्ने निर्णय लिएका हुन्। स्वास्थ्य बीमा बोर्डले भने दाबी भुक्तानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर नयाँ कार्ययोजना बनाउने तयारी गरेको जनाएको छ। बोर्डका अधिकारीहरूका अनुसार दाबी परीक्षण प्रक्रियालाई छरितो बनाउने, डिजिटल प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र बीमा कोष सुदृढीकरणका उपायबारे छलफल भइरहेको छ।


डा. काफ्लेको राजीनामापछि बोर्डको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय सरकारको निर्णयमा निर्भर रहनेछ। यद्यपि स्वास्थ्य बीमा कार्यक्रमको दीगो सुधारका लागि नेतृत्व परिवर्तन मात्र पर्याप्त नहुने, नीतिगत स्पष्टता र पर्याप्त बजेट व्यवस्थापन अपरिहार्य रहेको सरोकारवालाहरूको धारणा छ।

 पात्रो/राशिफल  रेडियो YouTube