
ललितपुर - अभियन्ता दुर्गा प्रसाईंले सरकारले सीमा सुरक्षा भन्दा सुकुम्वासी बस्ती हटाउने कार्यलाई प्राथमिकता दिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अबदेखि गरिब, सर्वहारा र सुकुम्वासी वर्गको पक्षमा खुला रूपमा लड्ने घोषणा गरेका छन् । सक्छौ भने पक्रेर लैजाउ भन्दै उनले सरकारप्रति चुनौतीसमेत दिएका छन् ।
प्रसाईंले सुकुम्वासीको बासस्थानबारे प्रश्न उठाउँदै सरकारी जग्गा र निजी जग्गा दुवैमा बस्न नपाइने अवस्थामा उनीहरू कहाँ जाने भन्ने प्रश्न गरेका छन् । उनले घरलाई जीवनभरको सपना भन्दै राज्यले गरिब नागरिकलाई अन्याय गरेको आरोप लगाए ।
उनले सरकारको ध्यान सीमा सुरक्षा जस्तो विषयमा केन्द्रित हुनुपर्ने भन्दै कालापानी–लिपुलेक क्षेत्रको रक्षा गर्नुपर्ने धारणा राखे । सुकुम्वासी बस्तीमा डोजर होइन, लिपुलेकमा राज्यको उपस्थिति हुनुपर्छ उनको भनाइ छ ।
सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रताबारे टिप्पणी गर्दै प्रसाईंले आफू एक्लै भए पनि यस्तो प्रवृत्तिविरुद्ध लडिरहने बताएका छन् ।

बिजनेस पाटी









