ललितपुर – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै कूल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको जनाएको छ । प्रतिवेदनअनुसार चालु आवका लागि विनियोजित रु १९ खर्ब ६४ अर्ब ११ करोडमध्ये पुस मसान्तसम्म रु ६ खर्ब ९० अर्ब २१ करोड (३५.१४%) मात्र खर्च भएको हो ।
खर्चको संरचना हेर्दा चालु खर्च ४१.२५%, पुँजीगत खर्च मात्र १२.१२% र वित्तीय व्यवस्थातर्फ ४०.९५% खर्च भएको देखिएको छ। पुँजीगत खर्च सन्तोषजनक नदेखिनुमा आयोजनाको पूर्वतयारी अभाव, जग्गा प्राप्ति र वन क्षेत्रसम्बन्धी जटिलता तथा आन्दोलनका कारण संरचनामा पुगेको क्षति प्रमुख कारणका रूपमा औंल्याइएको छ ।
पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनामा विनियोजित रु १ खर्ब १९ अर्ब ५३ करोड बजेट स्थगन गरिएको छ भने रु ४२ अर्ब २८ करोड फुकुवा गरिएको मन्त्रालयले जनाएको छ ।
राजस्वतर्फ चालु आवमा रु १४ खर्ब ८० अर्ब सङ्कलन गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयले राजस्व प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउने, कराधार विस्तार गर्ने तथा चुहावट नियन्त्रणका लागि भन्सार र सुरक्षा निकायबीच समन्वय बढाउने नीति लिएको छ ।
सार्वजनिक खर्च मितव्ययी बनाउन वैदेशिक भ्रमण नियन्त्रण, नयाँ दरबन्दी सिर्जना नगर्ने, परामर्श सेवा घटाउने र अनुत्पादक खर्च कटौती गर्ने व्यवस्था लागू गरिने भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वका आयोजनामा भने स्रोत अभाव हुन नदिने सुनिश्चितता गरिएको छ ।
मन्त्रालयका अनुसार बाँकी अवधिमा राजस्व परिचालन सुदृढ गर्दै लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्ने र बजेट कार्यान्वयन प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया