ललितपुर – जनप्रीय बहुमुखी क्याम्पसको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा चैत १२, १३ र १४ गते पोखरामा ‘नेपालमा उच्च शिक्षाको रुपान्तरण विश्व प्रतिष्पर्धातर्फका मार्गहरू विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कृष्णबाबु बरालले उच्च शिक्षालाई परम्परागत शिक्षण विधिबाट माथि उठाएर अनुसन्धानमुखी, प्रविधिमैत्री र उत्पादनसँग जोडिएको शिक्षातर्फ लैजान आवश्यकताका कारण सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो। सम्मेलनमा नेपालको उच्च शिक्षालाई स्थानीय आवश्यकता र विश्वव्यापी मापदण्डबीच कसरी सन्तुलन कायम गर्न सकिन्छ भन्ने विषयमा गहिरो छलफल गरिनेछ ।
सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश लगायतका देशका ख्यातिप्राप्त शिक्षाविद् सहभागी हुनेछन् । बरालका अनुसार, सम्मेलनमा ५० भन्दा बढी मूल्याङ्कन गरिएका अनुसन्धानपत्र प्रस्तुत गरिनेछन् । यी कार्यपत्रहरू गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, स्वायत्तता र दिगो विकास लक्ष्य जस्ता विषयमा केन्द्रित हुनेछन् ।
उहाँले सम्मेलनले नेपालको उच्च शिक्षा प्रणालीमा विद्यमान खाडल पुर्दै प्राज्ञिक उत्कृष्टता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न ठोस मार्गचित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारी, सहायक क्याम्पस प्रमुख नवीन खनाल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, प्राध्यापक दीपेन्द्र पहारी लगायतले सीमित शिक्षण सिकाइलाई फराकिलो अनुसन्धानको दायरामा लैजान सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया