
ललितपुर - चितवनस्थित हात्ती प्रजनन केन्द्रमा यस वर्ष चारवटा हात्तीका छावा जन्मिएका छन् ।
प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरी का अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कली नामका हात्तीले यस वर्ष छावा जन्माएका हुन् । तीर्थमान कलीले पोथी छावा जन्माएकी छन् भने अन्य तीनवटाले भाले छावा जन्माएका छन् ।
हाल केन्द्रमा नौवटा माउ हात्ती, एउटा तालिमे बच्चा र छवटा साना बच्चा रहेका छन् । तीमध्ये दुईवटा गत वर्ष जन्मिएका हुन् भने चारवटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनाभित्र बच्चा जन्माउने गर्दछन् ।
निकुञ्जका विभिन्न पोस्टमा गरी यसअघि ५८ वटा हात्ती रहेका थिए । गत वर्ष भने दुईवटा हात्ती कतार पठाइएको थियो । विसं २०४४ मा स्थापना भएको यस प्रजनन केन्द्रमा हालसम्म ६८ वटा छावा जन्मिसकेका छन् ।
केन्द्रका पोथी हात्तीलाई जङ्गली हात्तीले आएर गर्भाधान गराउने प्रचलन रहेको छ । ध्रुवे, रोनाल्डो, गोविन्दे र गत वर्ष मरेको मकुना नामका जङ्गली हात्तीले यहाँ प्रजनन गराउँदै आएका थिए ।
यसै महिनादेखि भीमगज र शेरगज नाम दिइएका दुईवटा जङ्गली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीच केन्द्रभित्रै भिडन्त भएपछि अन्य हात्ती र माउतेहरू त्रसित बनेका थिए ।
केन्द्रमा जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोस्टमा कामका लागि पठाउने गरिएको छ ।

बिजनेस पाटी













