इरानमा नेतृत्व संकट गहिरिँदै, खामेनेईको स्वास्थ्य अवस्था गम्भीर

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २४
|
306 views

ललितपुर - इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।

द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ ।

प्रतिवेदनअनुसार खामेनेई कोममा उपचाररत रहेको र उहाँ हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । सो मेमोले पहिलोपटक उहाँको ठ्याक्कै स्थानसमेत खुलाएको दाबी गरिएको छ ।

यस विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई समेत जानकारी रहेको जनाइएको छ । वासिङ्टनस्थित इरानको प्रतिनिधित्वसँग पनि यसबारे सम्पर्क गरिएको उल्लेख गरिएको छ, जसले पाकिस्तानस्थित दूतावासमार्फत काम गर्दै आएको बताइएको छ ।

पश्चिम एसियामा द्वन्द्व सुरु भएयता खामेनेई सार्वजनिक रूपमा देखिनुभएको छैन । उहाँको नाममा जारी गरिएका सन्देशहरू भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् ।

त्यसैबीच, सोही प्रतिवेदनमा खामेनेईको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।

यस घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिनुभएको छ । उहाँले मङ्गलबार राति ८ः०० बजे (पूर्वी समय) सम्म सम्झौतामा नआए पूर्वाधारमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यो अवस्थालाई ‘महत्त्त्वपूर्ण अवधि’ का रूपमा वर्णन गर्नुभयो । उहाँका अनुसार इरानले थप समय मागेपछि १० दिनको समय दिइएको थियो, जसको अन्तिम समय अब नजिकिएको छ ।

‘उनीहरूसँग भोलिसम्म समय छ, त्यसपछि के हुन्छ हेर्नु पर्नेछ’, उहाँले भन्नुभयो, ‘यदि सम्झौता भएन भने उनीहरूसँग कुनै पुल रहने छैन, कुनै पावर प्लान्ट रहने छैन र अवस्था झन् खराब हुनेछ ।’

ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्व सन्दर्भमा आफूले सुरुमा बलियो इरानको सामना गर्नुपरेको भए पनि अहिले अवस्था बदलिएको दाबी गर्नुभयो । उहाँले विगतका अमेरिकी प्रशासनहरूले समयमै कदम नचालेको टिप्पणी गर्दै अहिलेको रणनीति ढिलो भए पनि आवश्यक भएको बताउनुभयो ।

‘हामी ४७ वर्षदेखि यिनीसँग व्यवहार गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘पहिले नै कदम चालिएको भए अवस्था फरक हुन सक्थ्यो, तर अहिले पनि हामी आवश्यक निर्णय लिइरहेका छौँ ।’

यो घटनाक्रमले इरानको आन्तरिक नेतृत्व, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा थप जटिलता थप्ने सङ्केत देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो