ललितपुर - ललितपुर – संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ ।
घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ । शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न स्थानका रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले २०० लडाकू जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थानहरू र मिसाइल लन्चरहरू मुख्य निशानामा परेको बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप हजारौँ लक्ष्यमा कारबाही जारी रहने चेतावनी दिनुभएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म भारी र सटीक बमबारी जारी रहने बताउनुभएको छ । उहाँले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गर्नुभएको थियो । त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले कालो ब्यानरसहित अभिलेख दृश्य प्रसारण गर्दै खामेनीको निधन पुष्टि गरेको हो । खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ । इरानी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको जनाएका छन् । देशको न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा ‘शहीद’ भएको पुष्टि गरेको छ ।
खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने सरकारी टेलिभिजनले जनाएको छ । दिवङ्गत शाहका छोरा रेजा पहलवीले घटनालाई इस्लामिक गणतन्त्रको अन्त्यतर्फको कदमका रूपमा टिप्पणी गर्नुभएको छ ।
तेहरानमा आइतबार पनि शक्तिशाली विस्फोटका आवाज सुनिएका एएफपीका संवाददाताहरूले बताएका छन्, यद्यपि स्रोत स्पष्ट हुन सकेको छैन । इरानको न्यायपालिकाले मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको जनाएको छ, तर एएफपीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन । अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरमा इरानको रिभोलुसनरी गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर सुरु गरेको छ ।
शनिबार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरिएको दाबी गरिएको छ । इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको छ ।

बिजनेस पाटी