
ललितपुर - इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप चुलिएको हो । यही क्रममा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको थियो । पुटिनले अमेरिका र इजरायलले फेरि इरानमाथि युद्ध चर्काए ‘हानिकारक परिणाम’ आउने चेतावनी दिनुभएको बताइएको छ ।
तेल उद्योगसँग सम्बन्धित अधिकारीहरूसँगको भेटमा ट्रम्पले इरानी बन्दरगाहहरूको नाकाबन्दीलाई निर्णायक कदमका रूपमा व्याख्या गर्नुभयो । तेहरानले कुनै पनि सम्झौताअघि उक्त नाकाबन्दी हटाउन माग गरिरहेको छ । तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार नाकाबन्दी उल्लङ्घन गर्ने प्रयासमा रहेका ४२औँ व्यापारिक जहाजलाई समेत फर्काउन सफल भएको छ । यसबाट करिब छ अर्ब डलर बराबरको छ करोड ९० लाख ब्यारेल तेल बजारमा आउन नपाएको दाबी गरिएको छ ।
युद्धको प्रभाव अमेरिकी आन्तरिक राजनीतिमा पनि देखिन थालेको छ । यो सङ्घर्ष आम मतदातामाझ लोकप्रिय नभएकाले ट्रम्पमाथि युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढ्दो छ । साथै, तेलको मूल्य वृद्धि हुँदा अमेरिकी उपभोक्ताको खर्च बढेको छ भने अमेरिकी सहयोगी देशहरू पनि असुरक्षामा परेका छन् ।

बिजनेस पाटी













