इसेवाबाटै किस्तामा विद्युतीय स्कुटर, ‘बाइ नाउ पे लेटर’ सेवा सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १३
|
153 views

ललितपुर - डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ‘बाइ नाउ, पे लेटर’ (BNPL) सेवा सञ्चालनमा ल्याएको छ। यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा सुविधा लिन सक्नेछन् ।

इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिबीच भएको त्रिपक्षीय साझेदारीपछि यो सुविधा सुरु गरिएको हो ।

    सम्झौताअनुसार परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ भने रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा प्रदान गर्नेछ । ग्राहकले इसेवा प्लेटफर्मबाटै आवेदनदेखि कर्जा प्रक्रियासम्मका काम डिजिटल माध्यमबाट पूरा गर्न सक्नेछन् ।

      रिलायन्स फाइनान्सले स्कुटर खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । उक्त कर्जा ग्राहकले अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

      इसेवाका अनुसार BNPL सुविधाले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता कम गर्दै आवश्यक विद्युतीय सवारीसाधन किस्ताबन्दीमा खरिद गर्ने विकल्प प्रदान गर्नेछ ।

      कम्पनीले डिजिटल वित्तीय सेवाको पहुँच विस्तारसँगै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले पनि यो सेवा ल्याइएको जनाएको छ । विद्युतीय यातायातको विस्तारले प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube