ललितपुर – नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमार्फत गरिएको हो ।
समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड जित्यो । सोही चलचित्रका लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरे ।
राष्ट्रिय अभिनयतर्फ चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपाल सर्वोत्कृष्ट अभिनेता घोषित हुँदा चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट अभिनेत्री बनिन् । ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड हात पारे । वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड प्राप्त गरे ।
लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले राष्ट्रिय विशेष उल्लेख अवार्ड पायो भने जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन ?’ र निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरियो ।
अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, गोविन्द प्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र, आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र तथा सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्र घोषित भए ।
महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय श्रेणीअन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए । साथै अष्ट्रेलियाली निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लाससमेत सञ्चालन गरिएको थियो ।
अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अवार्ड जित्दा सोही चलचित्रका चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेता अवार्ड प्राप्त गरे । अष्ट्रेलियाका मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र तथा लिथुआनियाको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र अवार्ड हात पारे ।
यसैगरी इजरायलको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्र, बेलायतकी स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र तथा क्यानडाकी फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड प्राप्त गर्यो ।
भारतको चलचित्र ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड पाए । जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक, ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री तथा भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरे ।
विशेष उल्लेख अवार्डतर्फ हङकङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनको ‘न्यु डन’ र फ्रान्सको ‘कासा सुसाना’ सम्मानित भएका छन् ।
महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।






















फेसबुकबाट तपाईको प्रतिक्रिया