शान्ति कायम गर्न उद्योग वाणिज्य महासङ्घ र चेम्बर अफ कमर्सको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १४
|
561 views

ललितपुर -
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख गरेको छ ।

कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    “सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा महासङ्घले व्याख्या गरेको छ । महासङ्घले जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ । साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

    तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महासङ्घले विज्ञप्तिमा मार्फत् उल्लेख गरेको छ ।

    यसैगरी नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।

    चेम्बरद्वारा आज जारी वक्तव्यमा नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको जनाएको छ ।

      चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ ।

      नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरेको छ । साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता तथा आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ ।

      वक्तव्यमा धार्मिक अगुवा, सामाजिक सङ्घसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ । दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरले उल्लेख गरेको छ ।

      चेम्बरले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुनसक्ने जनाएको छ । समुदायबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई बलियो बनाउने चेम्बरको विश्वास छ ।


      चेम्बरले प्रभावित व्यवसायको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सदैव तयार रहेको प्रतिबद्धता जनाएको छ । सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ ।

      चेम्बरले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई थप सुदृढ बनाउन आह्वान गरेको छ । चेम्बरले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै शान्ति पूर्ण रूपमा पुनःस्थापित हुने तथा ती क्षेत्र अझ एकताबद्ध, सुदृढ र समृद्ध बन्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

      
      
      
      

      
      
      
      
      
      
      
      
      
      
      
      
       पात्रो/राशिफल  रेडियो YouTube