पूर्वाधार विकास सुस्त हुनुको मूल कारण प्रणालीगत समस्या : सभापति गगन थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २६
|
714 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकास सुस्त हुनुको मुख्य कारण सतही होइन प्रणालीगत समस्या भएको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने शैलीले विकास सम्भव नहुने भन्दै उहाँले अबको पाँच वर्षमा पूर्वाधार क्षेत्रमा रूपान्तरण गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गर्नुभएको छ ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू वर्षौँसम्म अलपत्र परिरहेको उल्लेख गर्दै परम्परागत विकास मोडेल असफल भएको निष्कर्ष प्रस्तुत गर्नुभयो । सडक बनेपछि खानेपानी, ढल र तारका लागि बारम्बार खन्ने प्रवृत्तिले लागत बढ्नुका साथै मुलुकले ठूलो अवसर गुमाइरहेको उहाँको भनाइ छ ।

पूर्वाधार निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण पुराना कानुन भएको भन्दै उहाँले ४८ वर्ष पुरानो सडक ऐन र २० वर्ष पुरानो सार्वजनिक खरिद ऐन परिमार्जन नगरी सुधार सम्भव नहुने बताउनुभयो । पूर्वाधार समयमै सम्पन्न गर्न करिब तीन दर्जन कानुन संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने उहाँको धारणा छ ।

योजना छनोटमा राजनीतिक दबाब अन्त्य गरी लागत–लाभ विश्लेषण अनिवार्य गर्नुपर्ने, सार्वजनिक खरिदमा कम मूल्यभन्दा पनि ‘समयको मूल्य’ लाई प्राथमिकता दिनुपर्ने तथा पारदर्शिता र सामाजिक परीक्षणलाई अनिवार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभापति थापाले ठूला आयोजना घोषणा गर्दा स्रोत सुनिश्चित नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै हाइब्रिड एन्युटी मोडेल र सार्वजनिक सम्पत्ति उपयोगमार्फत लगानी जुटाउन सकिने उल्लेख गर्नुभयो ।

पाँच वर्षभित्र दश–बाह्र वर्ष लाग्ने आयोजनाहरू एक–दुई वर्षमै सम्पन्न गर्ने प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति थापाले पूर्वाधार क्षेत्रमा संस्थागत सुधारबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube