ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको आधार २००७ साल फागुन ७ को क्रान्ति भएको बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा यसलाई उल्लेख गर्नुभएको छ । उहाँका अनुसार विसं २००७ को ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको थियो ।
सभापति थापाले सन्देशमा उल्लेख गर्नुभएको छ, कात्तिक २६, २००७ देखि प्रारम्भ भएको जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समेत अग्रगामी मार्ग प्रशस्त गरेको थियो । उहाँले थप्नुभयो “मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो ।
उहाँले लोकतन्त्र स्थापना र पुनःस्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गर्नुभएको छ ।

बिजनेस पाटी