ललितपुर - ललितपुर – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका छन्, जानकारी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम लागूऔषधसहित पक्राउ गरेको उहाँले बताउनुभयो । तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी, चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका छन्, जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दिनुभयो ।
बूढानीलकण्ठ–७ हात्तीगौडास्थित र काठमाडौं महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङमा राखेको मोटरसाइकल चोरी गरी पार्टपुर्जा निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलमा जडान गरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी छन्, जानकारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दिनुभयो ।
निज दाहालले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो । उनीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।

बिजनेस पाटी