गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २८
|
102 views

ललितपुर - गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय मानवीय कानूनले अस्पताल, स्वास्थ्यकर्मी र चिकित्सा सुविधाको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्ता संरचनालाई निशाना बनाउन वा सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताउनुभयो ।

जारी हिंसाले गाजामा मानवीय पीडा थप बढाएको र कमजोर अवस्थामा रहेको युद्धविरामसमेत जोखिममा पारेको उहाँको भनाइ छ । जाडोयाम नजिकिँदै गर्दा प्रभावित नागरिकलाई राहत दिन आश्रय सामग्री र न्यानो कपडासहितका मानवीय सहायता सामग्री सुरक्षित तथा निर्बाध रूपमा गाजामा पु¥याउन उहाँले आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गाजाका स्वास्थ्य संस्था त्यहाँका नागरिकका लागि जीवनरेखा भएको उल्लेख गर्दै तिनलाई सैन्य प्रयोजनमा प्रयोग नगर्न र आक्रमण नगर्न आग्रह गर्नुभएको छ । उहाँले शान्तिलाई नै सबैभन्दा प्रभावकारी औषधिको संज्ञा दिनुभयो । डब्लुएचओका अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा स्वास्थ्य सेवामाथि एक हजारभन्दा बढी आक्रमणका घटना अभिलेख गरिएका छन्, जसबाट मानवीय क्षति हुनुका साथै स्वास्थ्य संरचनामा क्षति पुगेको छ ।

यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गत सप्ताहन्तको भारी वर्षापछि गाजामा राहत साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा पानी निकास गर्ने, नाली सफा गर्ने र जमेको पानी हटाउने काम गरिरहेको जनाएको छ । वर्षायाम सुरु हुन अझै केही महिना बाँकी रहे पनि विस्थापित परिवार र होचा भूभागमा बसोबास गर्ने नागरिक ढल मिसिएको पानीको जोखिममा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पानी निकाल्ने पम्प, बालुवाका बोरा तथा अन्य उपकरण उपलब्ध आवश्यकता पूरा गर्न पर्याप्त छैनन् । प्रयोगशालाका सामग्री र चिकित्सा उपकरण गाजामा प्रवेश गर्न नदिइएकाले रोगको प्रारम्भिक पहिचान र प्रकोप नियन्त्रणमा समेत कठिनाइ भएको छ । जाडोयाममा यस्तो जोखिम अझ बढ्ने चेतावनी दिइएको छ ।

मानवीय सहायता संस्थाहरूले पाल, सिमेन्ट, न्यानो कपडा, कम्बल, बालुवाका बोरा, पानी तान्ने पम्प, जेनेरेटर, इन्धन र आवश्यक उपकरण गाजामा सहज रूपमा प्रवेश गराउन लगाइएका प्रतिबन्ध हटाउन माग गरेका छन् । भग्नावशेष र विस्फोटक पदार्थ हटाउने उपकरण तथा जाडोयामका लागि औषधि र खोपको पनि आवश्यकता रहेको कार्यालयले जनाएको छ ।

बुधबारसम्म सहायता साझेदारहरूले तत्काल सहयोग आवश्यक ठहर गरिएका करिब पाँच हजार २०० परिवारमध्ये एक हजार ८०० परिवारलाई पाल, त्रिपाल, कम्बल र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । यो कुल आवश्यक परिवारको करिब एक तिहाइ हो ।

       पात्रो/राशिफल  रेडियो YouTube