ललितपुर - गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक प्रदेशसभाको अर्थ तथा विकास समितिमा छलफलका क्रममा छ ।
गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ ।
विधेयकबारे विज्ञसहित सरोकार भएका पक्षहरूबीच छलफल तथा रायसुझाव सङ्कलन गर्ने कार्य भइरहेको समितिका सभापति भोजराज अर्यालले बताउनुभयो । गत सोमबार विशेषज्ञसहित बसेको बैठकबाट विधेयकमा थप स्पष्टता ल्याउनुपर्नेलगायतका विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको उहाँको भनाइ छ । ‘विधेयकमा संशोधन प्रस्ताव राख्नुभएका प्रदेशसभा सदस्यज्यूहरूसँग छलफल गर्दै छौँ, सबैका रायसुझावलाई समेटेर प्रतिवेदन तयार गर्छौँ’, सभापति अर्यालले भन्नुभयो ।
विधेयकमा रहेका कतिपय व्यवस्थाका बारेमा थप स्पष्टता ल्याउनुपर्ने देखिएकाले सो विषयमा सरकारसँग छलफल गरिने उहाँले बताउनुभयो । गाँजाखेती संवेदनशील विषय भएकाले हतार नगरी परिपक्क ढङ्गले विधेयकलाई पूर्णता दिइने उहाँको भनाइ छ । ‘आवश्यकता पर्दा पुनः विज्ञहरूसँग छलफल गर्छौँ, समितिमा दफाबार छलफल सकिएपछि छलफलका लागि विधेयक प्रदेशसभामा जान्छ’, सभापति अर्यालले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया