ललितपुर – मोफसलको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।
पोखरा रङ्गशालामा सम्पन्न फाइनलमा सहाराले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै १२ वर्षपछि उपाधि चुमेको हो । च्याम्पियन बनेको सहाराले रु १४ लाख एक हजारसहित ट्रफी हात पार्दा उपविजेता जावलाखेलले रु सात लाख एक हजार मा चित्त बुझायो। सहाराले यसअघि विसं २०७० मा पहिलो पटक उपाधि जितेको थियो ।
सहाराको जितमा २५औँ मिनेटमा मुकुन्दकुमार निउरेले पहिलो गोल गरे भने ७३औँ मिनेटमा विदेशी खेलाडी टाय डिनियल बादारुले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उत्कृष्ट डिफेन्डर बादारु, सर्वाधिक गोलकर्ता पापा आईबोउ केबे (प्लानिङ ब्वाईज), उदियमान खेलाडी निउरे, उत्कृष्ट स्ट्राइकर धर्वेन्द कुँवर (जावलाखेल), उत्कृष्ट गोलकिपर टीकेन्द्र थापा (सहारा), उत्कृष्ट मिडफिल्डर बाउबकर सिसिको (जावलाखेल), उत्कृष्ट प्रशिक्षक सुनिल रानामागर (सहारा) र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लबलाई प्रदान गरिएको छ। उनीहरूले जनही रु २५ हजार नगद पुरस्कार पाए ।
सहारा क्लब पोखराको आयोजनामा माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया