ललितपुर - ललितपुर । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (क्यान) मा आबद्ध चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार क्यानमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा पनि लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसका अतिरिक्त गरिमा विकास बैंकले क्यानमा आबद्ध सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा तथा सवारी साधन कर्जा सुविधा समेत उपलब्ध गराउनेछ । हाल बैंकले “अब आफ्नै घर” भन्ने नारासहित ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आइरहेको छ ।
गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बिजनेस पाटी