भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।
कैलालीको नेपाल-भारत सीमानाका त्रिनगरमा भेटिनुभएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताउनुभयो । “खाने र बस्ने सुविधा होटलमा थियो”, भारतको मुम्बइबाट स्वदेश फर्किर्दै गर्नुभएका उहाँले भन्नुभयो, “ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएँ ।”
सीमानाकामा भेटिनुभएका विजय विकले एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा यस वर्ष छिटो घर फर्किनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिसु पर्व पनि आइरहेको छ, चैत अन्तिमतिर घर फर्किने सोच भए पनि आफूले काम गर्ने होटल ग्यास अभावमा बन्द हुने अवस्थामा पुगेकाले फर्किएको हुँ ।”
विकका अनुसार सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा मनाइन्छ । उहाँले खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका बताउनुभयो ।
पश्चिम एसिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ । भारतमा ठूलो सङ्ख्याका नेपाली विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएका छन् । सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य भारत हो ।
यसैबीच, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थालाई लक्षित गरेर पछिल्ला दिनमा कैलालीका बजार क्षेत्रमा अनुगमन भइरहेको छ । जिल्लास्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जैशीले अनुगमनका क्रममा कैलालीसहित आसपासका जिल्लामा अहिलेसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिनुभयो ।
टोलीले कैलालीको धनगढी, टीकापुर, लम्की, अत्तरिया र कञ्चनपुरको पुनर्वास, बेलौरीलगायत क्षेत्रमा बजार अनुगमन गरेको छ । उहाँले भन्नभयो, “डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज छ । खाना पकाउनका लागि आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीतिबमोजिम सबैतिर आधा सिलिन्डर प्रयोग भइरहेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया