ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न महासंघको माग

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
1.2k views

ललितपुर - ललितपुर – ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अनुसार मध्यपूर्वमा देखिएको पछिल्लो अस्थिरताका कारण भविष्यमा ग्यास आपूर्ति प्रभावित हुन सक्छ भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक हो । तर यस्तो अवस्थाको फाइदा उठाउँदै तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको महासंघले जनाएको छ ।

महासंघले देशभरका विक्रेतालाई गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार ढङ्गले सेवा प्रदान गर्न अपिल गरेको छ । साथै, संकटको समयमा उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

यस्ता गैरकानुनी गतिविधि गर्ने व्यक्तिमाथि कारबाही हुने विषयमा देशभरका विक्रेतालाई सम्बन्धित जिल्ला संघमार्फत जानकारी गराउन पनि महासंघले निर्देशन दिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube