भाद्र कृष्ण अष्टमीः अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १९
|
357 views

ललितपुर - कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वरसहित दुबोको पूजा गरेर आज अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई ‘अँध्यारी’ भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि भने गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूर पश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube