रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा, बागलुङ–१ सुशिल खड्का र पर्सा–१ बुद्धिप्रसाद पन्त निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २३
|
612 views

ललितपुर - ललितपुर – रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गर्नुभयो ।

बागलुङ–१ रास्वपाका खड्का विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

पर्सा–१ बाट रास्वापाका पन्त विजयी

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको घोषणा गर्नुभयो । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्नुभएको छ ।

एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गर्नुभयो । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गर्नुभएको छ । विजयी भएका उम्मेदवार पन्तले नेपाली जनताले परिवर्तन चाहिरहेकाले पनि यो जित सम्भव भएको बताउनुभयो ।

पर्साको क्षेत्र नम्बर १ मा कूल ८९ हजार ६३८ मतदातामध्ये ६१ हजार २४७ जना अर्थात् ६८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । यहाँ दलीय र स्वतन्त्रतर्फ गरेर ३० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube