ललितपुर – प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अचुतम लामिछाने विजयी हुनुभएको छ । रास्वपाका लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रमा नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले)का केशवराज पाण्डेले आठ हजार २८५ मत, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत ल्याउनुभयो ।
नुवाकोट–२ मा बाह्र जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेले ७७५, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नवराज ढुङ्गानाले ९०, नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)का किरण तिम्सेनाले ५२, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत पाउनुभयो ।
नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको थियो ।
तनहुँ-१ मा रास्वपाका डा वाग्ले विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको छ ।
यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यतिबेला पनि उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई हुनुहुन्थ्यो । भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो ।
को हुन् वाग्ले ?
विसं २०३१ मा गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले विसं २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
राष्ट्रिय योजनाको आयोगको सदस्य, उपाध्यक्षका रुपमा काम गर्नुभएका वाग्लेले युनडिपी एशिया प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारको रुपमा काम गर्नुभएको अनुभव छ । लण्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नुभएका वाग्ले विसं २०७१ मा नेपाल फर्किनुभएको थियो ।
वाग्ले नेपालका चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुनुहुन्छ । उहाँ आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा गहिरो अध्ययन र अनुभव भएका व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया