रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी, दाङ-२ मा विपिनकुमार आचार्य र गुल्मी-२ मा गोविन्द पन्थी विजयी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २३
|
663 views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा नेकपा (एमाले)का अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गर्नुभयो । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।

हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम, क्षेत्र नं. ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं. ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखिरहनुभएको छ ।

दाङ-२ मा पनि रास्वपा विजयी
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गर्नुभएको छ ।

गुल्मी-२ मा रास्वपाका पन्थी विजयी
गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube