झापा–२ बाट रास्वपाकी इन्दिरा रानामगर, धनुषा–४ मा राजकिशोर महतो, उदयपुर–२ मा सूर्यबहादुर लामा निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २४
|
663 views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो । यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

धनुषा–४ मा रास्वपाका महतो विजयी
धनुषाधाम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो ।

उदयपुर–२ मा रास्वपा विजयी
कटारी (उदयपुर), २४ फागुनः उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

रास्वपाको जिल्ला सचिवसमेत रहनुभएका लामाले यस क्षेत्रबाट पहिलो पटक सांसद पदमा विजयी हुनुभएको हो । उहाँ कटारी–७ मर्जेतपुरका बासिन्दा हुनुहुन्छ । एकचालिस वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ता हुनुहुन्थ्यो ।

 पात्रो/राशिफल  रेडियो YouTube