सुनसरी घटनाका सन्दर्भमा प्रधानमन्त्रीले यथेष्ट पहल गर्नुभएको छः अर्थमन्त्री वाग्ले

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १३
|
510 views

ललितपुर - अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर भइरहेका झडप आदिको नियन्त्रण गरी थप हिंसा भड्किन नदिन प्रधानमन्त्री वालेन्द्र शाहले यथेष्ट मात्रामा पहल गर्नुभएको बताउनुभएको छ ।

सुनसरीमा केही दिनयतादेखि विभिन्न समूहमा झडपहरू जारी रहेका बेला उक्त घटनाका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सरकारका तर्फबाट धारणा राख्दै मन्त्री वाग्लेले सो जानकारी दिनुभएको हो ।

    सिंहदरबारमा आज बिहान बोलाइएको उक्त बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनुभएको थियो । सो बैठकमा सरकारका तर्फबाट मन्त्री डा वाग्ले सहभागी हुनुभएको थियो ।

      सुनसरीमा केही दिनअघि भएको दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिको समाधानका लागि गर्न प्रधानमन्त्री शाहले पर्याप्त मात्रामा पहल लिइरहनुभएको मन्त्री वाग्लेको भनाइ छ ।

      उहाँले भन्नुभयो, ‘सुनसरीमा सामाजिक सद्भाव कायम राख्न, सुरक्षा प्रबन्ध चुस्तदुरुस्त बनाइराख्न, उक्त दुःखद् घटनामा परेका पीडितपरिवारलाई क्षतिपूर्तिका साथै घाइतेहरूको उपचारको उचित प्रबन्ध गर्न प्रधानमन्त्रीज्यूले पहल लिइरहनुभएको छ र उहाँकै समन्वयमा सरकार कार्यरत छ ।’

      उहाँले स्थितिलाई सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक मात्रामा समन्वयात्मक रूपमा काम गरिरहेको पनि बैठकमा जानकारी गराउनुभएको थियो ।

      सो बैठकमा सहभागी राजनीतिक दलहरूले सुनसरी जिल्लामा भएको दुःखद् घटना थप दोहोरिन नदिन सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्ने निर्णय गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube