२०८२ फाल्गुन ६ | Feb 18, 2026

सेना दिवसमा अमेरिकी सेनाको सहभागिता: कूटनीतिक संकेत र एमसीसीपछिको मनोविज्ञान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ४
|
1.2k views

ललितपुर – राष्ट्रपतिको रोहबरमा मनाइएको २६३औँ सेना दिवस समारोहमा USA आर्मीको परेड सहभागिताले राष्ट्रिय बहसमा नयाँ अध्याय खोलेको छ । यो बहस केवल औपचारिक सैन्य समारोहसम्म सीमित छैन किनकि यसले नेपाल–अमेरिकाको सम्बन्ध, सैन्य कूटनीति र विकास सहकार्यका आयामहरूलाई पुनः परीक्षणको घेरामा ल्याएको छ ।

सिधा अर्थमा हेर्दा सेना दिवस कार्यक्रममा अमेरिकी सेनाको सहभागिता र Millennium Challenge Corporation (एमसीसी) बीच कुनै प्रत्यक्ष, कानुनी वा संस्थागत सम्बन्ध देखिँदैन । एमसीसी विकास पूर्वाधारमा केन्द्रित कार्यक्रम हो, सैन्य गठबन्धन होइन । नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थिति भएको मुलुकमा घटनाहरू केवल कागजी परिभाषाले मात्र व्याख्या हुँदैनन् सन्दर्भ, संकेत र समय पनि उत्तिकै निर्णायक हुन्छन् ।

एमसीसी अनुमोदनको बहसका क्रममा देश लामो समय राजनीतिक ध्रुवीकरणबाट गुज्रिएको थियो । कसैले यसलाई शुद्ध विकास सहयोगका रूपमा व्याख्या गरे भने कसैले रणनीतिक प्रभाव विस्तारको प्रवेशद्वारका रूपमा हेरे । यही पृष्ठभूमिमा राष्ट्रिय सैन्य समारोहमा अमेरिकी सेनाको उपस्थिति देखिनु स्वभाविक रूपमा शंकाको दृष्टिले हेरिनु अनौठो होइन । प्रश्न उठ्नु लोकतान्त्रिक समाजको स्वभाविक प्रक्रिया र पद्दति हो ।

वास्तवमा, एमसीसी विकास परियोजना भन्नु नै न्द्रित संस्था हो किनकि यसले प्रतिनिधित्व गर्ने संयुक्त राज्य अमेरिका विश्व राजनीतिमा विकास, कूटनीति र सुरक्षालाई परस्पर जोडिएका आयामका रूपमा अघि बढाउने शक्ति राष्ट्र हो । त्यसैले एमसीसीपछिका सन्दर्भमा देखिने कुनै पनि अमेरिकी उपस्थिति ‘सफ्ट पावर’ र रणनीतिक निरन्तरताको दृष्टिबाट विश्लेषित हुनु स्वाभाविक बनेको छ ।

नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै आएको मुलुक हो । यस्तो अवस्थामा राष्ट्रिय प्रतीकसँग जोडिएको सैन्य समारोहमा विदेशी सेनाको उपस्थिति—त्यो पनि एमसीसीको राजनीतिक स्मृति अझै ताजा रहँदा-कूटनीतिक सन्देशका दृष्टिले संवेदनशील विषय बन्न जान्छ । यसले प्रत्यक्ष हस्तक्षेप पुष्टि गर्दैन, तर प्रभाव विस्तारको आशंकालाई भने बल दिन सक्छ ।

राष्ट्रपतिको सहभागिता संवैधानिक औपचारिकता भए पनि त्यसले राज्यको स्वीकृतिको संकेत दिन्छ । त्यसैले यस्ता निर्णयहरूलाई पृथक् घटनाका रूपमा मात्र होइन, विगतका अनुभव, जनभावना र क्षेत्रीय सन्तुलनसँग जोडेर मूल्याङ्कन गर्नुपर्छ । पारदर्शिता र स्पष्ट कूटनीतिक संवादले मात्रै अनावश्यक भ्रमलाई न्यूनिकरण गर्न सक्छ ।

अन्तत : सेना दिवसको परेडलाई एमसीसीको प्रत्यक्ष निरन्तरता भन्न मिल्दैन । तर एमसीसी बहसले निर्माण गरेको मनोवैज्ञानिक पृष्ठभूमिले यसलाई सामान्य प्रोटोकलभन्दा बढी अर्थपूर्ण बनाएको छ । नेपालका लागि चुनौती अमेरिकासँगको विकास सहकार्य वा सैन्य मित्रता होइन ती सम्बन्धले राष्ट्रिय स्वाधीनता, सन्तुलन र असंलग्न नीतिको मर्मलाई कमजोर बनाइरहेका त छैनन् भन्ने सुनिश्चित गर्नु हो ।

सम्पादकीय :-

फेसबुकबाट तपाईको प्रतिक्रिया