
ललितपुर - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
साम्पाङले प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यास कायम राख्न नसकेको आरोप लगाउँदै चार मुख्य आधार प्रस्तुत गरेका हुन् ।
विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीले संसद् र सार्वभौम जनताको अपमान गरेको टिप्पणी गरेका छन् ।
साम्पाङले उठाएका मुख्य कारणमध्ये राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएको, प्रतिपक्षले उपस्थित हुन आग्रह गर्दा पनि नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको, नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित रहेको तथा प्रधानमन्त्री बनेपछि हालसम्म संसद्को कुनै बैठकमा जनतालाई सम्बोधन नगरेको विषय उल्लेख छन् ।
उनले प्रधानमन्त्रीले संसद्को मर्यादा कमजोर बनाएको र यसले लोकतन्त्रप्रतिको जनविश्वासमा असर परेको बताएका छन् ।
साम्पाङले संसद्लाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसद्को औचित्यमाथि नै प्रश्न उठाएको समेत उल्लेख गरेका छन् ।


बिजनेस पाटी















